२०२५ अक्टोबर ११ (शनिबार) मा सेन्ट ल्यूक्स अन्तर्राष्ट्रिय अस्पतालमा "विदेशी गर्भवती महिलाहरूका लागि प्रसव र सुत्केरीपछिको कार्यशाला " आयोजना गरियो! यो तेस्रो पटक आयोजना गरिएको कार्यशालामा गर्भवती महिला र उनका पार्टनर गरी जम्मा १६ जनाले सहभागिता जनाए, जहाँ जापानमा सुत्केरी हुने दम्पतीहरूका लागि व्यवहारिक सल्लाह र उपयोगी जानकारी प्रदान गरियो।
विदेशमा गर्भवती हुनु र बच्चा जन्माउनु उत्साहजनक भए पनि चिन्ताजनक पनि हुन सक्छ। यस कार्यशालामा, हामीले सहज र आरामदायी वातावरणमा सहभागी हुन सक्ने व्यवस्था गरेका थियौं। यहाँ सहभागीले सन्तान जन्माउने प्रक्रियामा उपयोगी जानकारी, मानसिक समर्थनका कुरा, र समान अनुभव भएका साथीहरूसँगको सम्बन्धमार्फत थप आत्मविश्वासका साथ सन्तान जन्माउन सक्नुहुनेछ भन्ने आशा गरेका थियौं।
जापानमा सुरक्षित रूपमा सन्तान जन्माउने तयारीका लागि — सिकाइ र सम्बन्ध विस्तार गर्ने समय
वर्कशपको मुख्य विषयहरूमध्ये एक, जापानमा गर्भवती महिला र सुत्केरीको हेरचाह कसरी गरिन्छ भन्ने कुरा बुझ्नु थियाे। विदेशसँगको फरकलाई ध्यानमा राख्दै, गर्भावस्थामा गरिने स्वास्थ्य परीक्षणको प्रक्रिया, सुत्केरी हुँदा आवश्यक प्रक्रिया, बच्चा जन्माउने तरिका, र सुत्केरीपछिको सहयोग जस्ता विषयहरू चित्र र भिडियोमार्फत सजिलै बुझ्न सकिने गरी व्याख्या गरियो। "तस्बिर र भिडियो प्रयोग गरेर बुझाइ दिएकोले धेरै सजिलो भयो" भन्ने प्रतिक्रिया सहभागीहरूबाट प्राप्त भएको छ।
त्यसैगरी, "अस्पतालमा सम्पर्क गर्ने समय", "प्रसूतिका लागि आवश्यक सामानहरू", "सुत्केरी व्यथाबाट निको हुने प्रक्रिया", "शिशुको नुहाउने तरिका र सुत्केरीपछिको आत्म-हेरचाह" जस्ता दैनिक जीवनमा उपयोगी विषयहरू पनि समेटिएका थिए। डा. इगाराशीले आफ्नो विशेषज्ञ ज्ञान र प्रशस्त अनुभवका आधारमा सुझाव दिनुभयो, र सहभागीहरूले "बुझ्न सजिलो र आत्मीय व्याख्या थियो" भन्ने प्रतिक्रिया दिएका थिए।
वर्कशपमा, सुत्केरी हुनुअघि मानसिक तयारी र सुत्केरीपछिको मानसिक हेरचाहबारे पनि विस्तारमा छलफल गरियो। पीडा नियन्त्रण, स्तनपान, स्वास्थ्य पुनःस्थापना, र सुत्केरीपछिका भावनात्मक परिवर्तनहरूबारे शान्त र सुरक्षित वातावरणमा कुराकानी गरियो।
"गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको हेरचाहबारे धेरै कुरा सिकें, र शारीरिक तथा मानसिक रूपमा तयार भएको महसुस गर्दैछु" भन्ने प्रतिक्रिया र"यो कक्षा फेरि सहभागी हुँदा, मेरो चिन्ता केही कम भएको जस्तो लाग्यो। साँच्चै धन्यवाद" जस्ता सन्देशहरू पनि प्राप्त भएका छन्।
त्यसैगरी, समान परिस्थितिमा रहेका अन्य व्यक्तिहरूसँग भेटघाट र अनुभव साटासाट गर्न पाएकोमा पनि सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।"अन्य गर्भवती महिलासँग कुराकानी गर्न पाउँदा राम्रो लाग्यो", "अन्तिमसम्म सबै प्रश्नको ध्यानपूर्वक उत्तर पाउँदा धेरै सहयोग भयो" जस्ता प्रतिक्रिया धेरै आएका छन्। एक सहभागीले भने,"मेरो श्रीमान्लाई जापानी भाषा राम्रोसँग नआउने भएकाले, अंग्रेजीमा जापानको सुत्केरी प्रणाली बुझ्न पाउने मौका पाउँदा धेरै सहयोग भयो"। श्रीमान्-श्रीमती मिलेर प्रश्न सोध्ने, नोट लिने, र अभ्यास गर्ने जस्ता गतिविधिबाट सँगै सिक्न पाउनु कति महत्वपूर्ण छ भन्ने कुरा प्रस्ट देखिन्थ्यो।
अर्को पटकको आयोजना तयारीमा
धेरै सहभागीहरूले "सामग्री धेरै उपयोगी र बुझ्न सजिलो थियो", "स्टाफहरू सहयोगी र भरपर्दो थिए" भनेर उच्च मूल्याङ्कन गर्नुभएको छ। अर्कोतर्फ, "थप प्रश्न गर्न समय चाहिन्छ", "डायपर फेर्ने र बेबीलाई बेर्ने अभ्यास भए राम्रो हुन्थ्यो" जस्ता सुझावहरू पनि प्राप्त भएका छन्।
अबदेखि, हामी अझ सहभागीमूलक र व्यवहारिक सामग्री समेट्दै, अझ प्रभावकारी कार्यशाला सञ्चालन गर्ने लक्ष्य राखेका छाै ।
हामी डा. इगाराशी, सहयोगी स्वयंसेवकहरू, र सक्रिय रूपमा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।
अर्को "विदेशी गर्भवती महिलाहरूका लागि प्रसव र सुत्केरीपछिको कार्यशाला" ११ नोभेम्बर २९ (शनिबार) मा सोही स्थान र सोही समयमा आयोजना हुने छ।
जापानमा सन्तान जन्माउन लाग्नुभएको विदेशी गर्भवती महिला र उहाँहरूको परिवारहरू, ढुक्कसग सहभागी हुनसक्नु हुनेछ।
अबदेखि पनि, विदेशी परिवारहरूले ढुक्कसँग सन्तान जन्माउने र पालनपोषण गर्न सकून् भनेर हामी निरन्तर सहयोग गर्दै जानेछौं।
विस्तृत जानकारी र आवेदन (जापानी भाषामा): https://j-ii.org/event/2025foreignpregnant/
(अंग्रेजीमा) https://global.j-ii.org/eng/event/2025foreignpregnant/
यदि तपाईंलाई आवेदन दिनु छ वा कुनै प्रश्न छ भने, कृपया info@j-ii.org मा सम्पर्क गर्नुहोस्। तपाईंको सहभागिताको हामी प्रतीक्षा गर्दैछौं!
日本語
English
नेपाली